मकवानपुर परिचय

१. पृष्ठभूमि

देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामांकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुँदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ । यो जिल्ला कुनै बेला मेची–महाकालीलाई राजधानीसँग जोड्ने सेतुको रुपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्गको निर्माणले केही ओझेलमा पर्न गएको छ ।
उत्तरतर्फ महाभारत शृखला र दक्षिणतर्फ चुरे पर्वत (सिलवालिक पहाड) को काखमा यो जिल्ला अवस्थित छ । राजधानी प्रवेशको मूख्य मार्गको रुपमा परिचित यो जिल्ला राजधानी काठमाडौं र ऐतिहासिक जिल्ला ललितपुरमा सीमाबद्ध भएर रहेको छ । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडाबाट कुलेखानी–फाखेल, चित्लाङ–थानकोट र कुलेखानी–सिस्नेरी हुँदै छोटो समय (४ घण्टा) मै काठमाडौं पुग्ने वैकल्पिक ग्रामीण मार्गहरु पनि संचालनमा रहेका छन् ।
देशकै जल विद्युत परियोजनाको मेरुदण्डको रुपमा रहेको कुलेखानी जल विद्युत प्रथम र दोस्रो सम्पन्न भइसकेको र तेस्रो निर्माणको अन्तिम चरणमा रहेको यथार्थ सर्व विद्धतै छ यस्तै देशकै पुरानो र तेस्रो ठूलो औद्योगिक क्षेत्र यस जिल्लामा पर्दछ । यहाँ बहुराष्ट्रिय निगमहरु तथा २ वटा ठूला सिमेन्ट कारखाना गरी ठूला तथा साना ४५ वटा कल कारखानाहरु छन् । यस जिल्लाको ७५% भू–भाग पहाडले ढाकेको छ । यहाँ थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन् । यहाँको शान्त शितल वातावरणले जो कोहीको मन जित्न सक्दछ । सेन वंशीय राजाहरुको दरबार मकवानपुरगढी (पृथ्वी नारायण शाहको ससुराली), सामारिक दृष्टिले महत्वपूर्ण स्थान चिसापानी मकवानपुरगढी, पर्यटकीय स्थल शहिद स्मारक आदिले यस जिल्लाको सौन्दर्य अझ बढाएको छ । त्यसैगरी भैंसे गा.वि.स. देखि उत्तरतर्फको छोटो–छोटो दुरीमा पाइने जैविक विविधता, चिसो हावापानी, लालीगुराँस, सुनगामा र विविध किसिमका जडिबुटीहरुको प्रचुरताले यो क्षेत्र प्राकृतिक संग्राहलयको रुपमा लिन सकिन्छ ।

२. ऐतिहासिक पक्ष

यस जिल्लाको सामाजिक, धार्मिक, साँस्कृतिक र आर्थिक पक्षको व्यवस्थित ढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न । किंवदन्ती र फाटफुट निस्केका लेखहरु अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रंसगमा आउने गरेको छ । वनबासको क्रममा पाँच पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उसैको नामबाट हेटौंडा नामांकरण भएको भन्ने जनश्रुति प्रचलित छ । हेडम्बा राक्षसकी बहिनी भूटनीसँग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ ।
यस जिल्लामा आदिवासी जनजातिको रुपमा रहेका राई (दनुवार) जातिहरु दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार हजार वर्ष अघिदेखि नै बसोबास रहेको भनाइ छ । तत्कालिन समयमा फापरवासी गा.वि.स. वडा नं. १ झुरझुरे उनीहरुको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतिनी गा.वि.स.मा तामाङ्ग जातिहरुको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङ्ग जातिहरुको बाहुल्य त्यसको सबुत हुन सक्दछ । मल्लकालिन राजा नरेन्द्र देव राजा हुन् भन्ने एक मात्र प्रमाण चित्लाङ्ग गा.वि.स.मा फेला परेको सिलालेखले पनि मकवानपुर जिल्लाको ऐतिहासिक पक्ष समृद्ध रहेको विश्वास गर्न सकिन्छ । अशोक सम्राट नेपालको भ्रमणमा आउँदा चिनो स्वरुप स्थापना गरिएको अशोक चैत्य, शिवालयहरु, पालुङ्ग र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न प्राचीन औजार, मूर्ति, गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जाति आदिले मकवानपुर जिल्ला प्राचीनकालदेखि नै एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पुष्टि गर्दछ ।

३. भौगोलिक अवस्थिति

मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ । पूर्व साघुरो हुँदै पश्चिम तर्फ बेलुन फुलेझै फुर्कको आकारमा छ । विश्व भूगोलको ८४ ं ४१’ देखि ८५ ं ३१’ पूर्वी देशान्तरसम्म र २७ ं १०’ देखि २७ ं ४०’ उत्तरी अक्षाँशको भागमा अवस्थित यो जिल्ला २४२६ वर्ग किमि. क्षेत्रफलम फैलिएकर रहेको छ । यस जिल्लाले नेपाल अधिराज्यको कूल जिल्लाहरु क्षेत्रफलको १.६५५ भाग ओगटेको छ । नौ जिल्लाहरुसँग सीमाबद्ध भएर रहेको यस जिल्लाको पूर्वमा काभ्रे र सिन्धुली पर्दछन् जिल्लाहरु पर्दछन् भने पश्चिम तर्फ चितवन र धादिङ्ग जिल्लाहरु रहेका छन् । त्यसैगरी उत्तर काठमाडौं र ललितपुरहरु पर्दछन् भने भने दक्षिणतर्फ पर्सा, बारा र रौतहट जिल्लाहरु रहेका छन् । क्षेत्रफलको दृष्टिकोणले यस जिल्लाको सबैभन्दा ठूलो गा.वि.स. मनहरी हो । यस गाविसको क्षेत्रफल २५६.५७ वर्ग कि.मि. छ । सबैभन्दा सानो गाविस ओगटे हो र यसको क्षेत्रफल १०.३५ वर्ग कि.मि. मात्र रहेको छ । जनघनत्वको आधारमा सबैभन्दा बढी जनघनत्व भएको गाविस पदमपोखरी हो भने सबैभन्दा कम जनघनत्व भएको गाविस मनहरी हो ।

४. राजनीतिक विभाजन

मकवानपुर जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्दछ । यस जिल्लाको सदरमुकाम हेटौंडा हो । २०४३ सालमा हेंटौडालाई सदरमुकाम बनाइएको हो । यस पूर्व भीमफेदी यस जिल्लाको सदरमुकाम थियो । मध्यामञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा यसलाई विकास गर्ने लक्ष्य राखिएको छ र क्षेत्रीस्तरका कार्यालयहरु यहाँ स्थानान्तरण हुने क्रम बढ्दो छ । प्रशासकीय दृष्टिले यस जिल्लालाई ४ वटा निर्वाचन क्षेत्र, १३ इलाका, ३५ गाउँ विकास समिति र २ नगरपालिकामा विभाजन गरिएको छ ।

५. जनसांख्यिक स्थिति ः

२०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४,२०,४७७ रहेको छ जस मध्ये महिलाहरु ५०.८५ प्रतिशत छन् । २०६८ सालको जनगणना अनुसार यस जिल्लाको औसत वार्षिक जनसंख्या वृद्धिदर ०.६९ प्रतिशत रहेको छ जुन ५८ सालको जनसंख्या वृद्धिको तुलनामा १.५१ प्रतिशतले घटेको छ । एक परिवारमा सरदर ४.८८ जना सदस्यहरु रहने गरेको तथ्याङ्गले देखाउँछ ।

६. प्राकृतिक स्वरुप ः

मकवानपुर जिल्ला मध्य पहाडी जिल्ला हो । यहाँको ७५% भू–भाग पहाड र २५ प्रतिशत भूभाग समथर रहेको छ । शिशिर याममा हिउँ पर्ने २५८४ मिटरको भू–भाग (दामन गाविसको सिमभञ्जयाङ्ग) देखि दक्षिणतर्फ समुद्री सतहको १६६ मिटरसम्मको होचो भू–भाग (राईगाउँ गाविसको हात्तीढुङ्गा) यहाँ पाईन्छ यस जिल्ला विभिन्न जात जाति तथा सांस्कृतिक विविधताको साथै हिउपर्ने पहाडी क्षेत्रदेखि समथर मैदानसम्म भएको यस जिल्ला जैविक विविधताको दृष्टिले पनि अत्यन्तै धनी रहेको छ । यसलाई सुनगाभाको प्राकृतिक म्यूजियमको रुपमा पनि चिन्न सकिन्छ । छोटो दूरी तथा सानो भू–भागमा पनि ठूलो वातावरणीय विविधताको श्रृखंला रहेको भैंसेदेखि सिम भन्ज्याङ्गसम्मको उचाईमा ९० जाति (जेनेरा)को सुनगाभा (अर्किड) मध्ये ६२ जाति यस जिल्लामा पाइन्छ ।

७. हावापानी ः

जिल्लाको धरातलीय विविधता सँगसँगै यहाँको हावापानीमा पनि निकै विविधता पाइन्छ । यहाँ मुख्यतया ३ किसिमको हावापानी पाइन्छ जसमा दक्षिणतर्फ चुरे श्रृंखलाको आसपास उष्ण, त्यसपछि क्रमशः उत्तरतर्फ समशीतोष्ण र शीतोष्ण किसिमको हावापानी पाइन्छ ।
यस जिल्लामा वार्षिक सरदर २५.३५ मिलि लिटर वर्षा हुन्छ । यो अंक नेपालको चेहरापुञ्जी भनेर कास्की जिल्लाको पोखरा पछिको अंक हो । जाडो महिनाको पुस माघमा न्यूनतम १६.६० से. तापक्रम पाइन्छ भने गर्मीयामको वैशाख जेठमा अधिकतम ३०.३० से. तापक्रम पाईन्छ ।

८. नदी नाला÷ताल ः

यस जिल्लालाई जलाधारको रुपमा चार जलाधार क्षेत्र र १२५ उप–जलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ । चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र लोथर हुन् । यस जिल्लाको ३.२७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ । जिल्लाको पूर्वी सीमा नदीको रुपमा रहेको बाग्मती नदी, पूर्व मध्यभागबाट शुरु भई दक्षिणतर्फ बग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमानदी लोथर यस जिल्लाका प्रमुख नदीहरु हुन् । यस जिल्लामा विद्युत उत्पादन गर्नको लागि निर्माण गरिएको मानव निर्मित इन्द्रसरोवर प्रमुख रुपमा रहेको छ । यो कुलेखानी र मार्खु गाउँ विकास समितिको ७ कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ ।
स्थायी पानीको श्रोतको अभाव रहेको यी नदीहरुमा वर्षात्को समयमा बाढीको रुपमा प्रशस्त मात्रामा पानी बगेतापनि हिउँदमा ज्यादै कम पानी बग्ने गर्दछ ।

९. भू–भाग

यस जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर मध्यृ कृषियोग्य जमिन ६१,४८९ हे. (२५.१५%), झाँडी , घाँसे मैदान ४९६८ हे. (२.०३%), खोलानाला तथा बगर १६७१० हे. (६.८३%), वन क्षेत्र १४४५५८ हे. (५९.१४%), औद्योगिक क्षेत्र १६०७ हे. (०.६६%), निकुञ्ज क्षेत्र १५१२५ हे. (६.१९%) छ । जिल्लाको ७५ प्रतिशत भूभाग पहाडी र २५ प्रतिशत भूभाग समथर रहेको छ ।

१०. मुख्य पर्वत श्रृंखला ः

चन्द्रागिरी ः फाखेल गाविसदेखि टिष्टुङ्ग गाविससम्म
महाभारत ः बेतिनी गाविसदेखि खैराङ्ग गाविससम्म
चुरे ः राईगाउँ गाविसदेखि मनहरी गाविससम्म

११. पेशा ः

२०६८ को जनगणना अनुसार मकवानपुर जिल्ला औद्योगिक जिल्लाको नामले चिनिएता पनि यहाँका मानिसहरुको मुख्य पेशा कृषि नै हो । यहाँको कूल जनसंख्या मध्ये ८२.७% कृषिमा र १७.३% गैर कृषिमा संलग्न छन् । आर्थिक रुपले सक्रिय जनसंख्याको ५३.६% कृषिमा र ४६.९४% जनसंख्या गैर कृषि पेशामा संलग्न छन् ।

१२. जाति ः

२०६८ को जनगणना अनुसार मकवानपुर जिल्ला बहुजातिय र बहुभाषिक जातजातिहरुको एउटा पूmलबारी हो यो जिल्ला तामाङ्ग जातिको बाहुल्य भएको जिल्ला हो । यहाँ ४७.८२% तामाङ्ग छन् । ७० प्रतिशत भन्दा बढी जनजातिहरुको बसोबास रहेको छ । तामाङ्ग जाति पछि दोस्रो स्थानमा ब्राम्हण १४.९ प्रतिशत, तेस्रोमा क्षेत्री १०.७१ प्रतिशत, चौथोमा नेवार ६.२१ प्रतिशत, पाँचौमा चेपाङ्ग ४.५७ प्रतिशत र छैंठौमा मगर ४.५१ प्रतिशत आदि विभिन्न जातजाति प्रमुख रुपमा रहेका छन् । कामी २.८८, राई १.९०, दमाई ०.८३, माझी ०.७६ र अन्य ५.७३ रहेका छनज् । जातिय विभिधताको धनी यस जिल्लामा अन्य जिल्लामा नभएको रलोपोन्मूख अवस्थामा पुगेका बनकरिया जातिको पनि बसोबास छ ।

१३. धर्म ः

२०६८ को जनगणना अनुसार यस जिल्लामा विविध धर्म र सम्प्रदायका मानिस बसोबास गर्दछन् । तामाङ्ग जातिको बाहुल्य रहेको भएतापनि हिन्दु धर्म मान्नेहरु बढी देखिन्छन् भने क्रिश्चियन र इस्लाम धर्म मान्नेहरु न्यून रहेको पाइन्छ । यस जिल्लामा हिन्दू धर्मावलम्बीहरु ४८.२८ प्रतिशत छन्ल भने बौद्ध धर्म मान्नेहरु ४५.५७ प्रतिशत छन् । क्रिश्चियत र इस्लाम धर्मावलम्बीहरु क्रमश m ४.८४ र ०.४२ प्रतिशत रहेको तथ्याङ्कबाट देखिन्छ ।

१४. धार्मिक स्थल ः

मकवानपुर जिल्लाको धार्मिक मठ मन्दिरहरु उल्लेख रुपमा छन् । हेटौंडा नगरपालिका क्षेत्र भित्र गोरक्षेश्वर, लक्ष्मीनारायण मन्दिर, भूटनदेवी, भुवनेश्वर महादेव, वनस्खण्डी, कुश्माण्ड सरोवर (१०८ गौमुखी धारा) पुण्य क्षेत्र रहेका छन् भने मकवानपुरगढी गाविसमा माकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ । चुरियामाई गाविसमा चुरियामाईको र भैंसे गाविसमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन्ल त्यसैगरी दामन गाविसमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराही गाविसमा बज्रबाराही, नामटार स्यार्सेकालिका, चित्लाङ्ग गाविसमा शिवालय आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरु छन् ।

१५. प्रमुख बजार केन्द्रहरु

समाज र जनसंख्याको विकासको क्रमसँगै ग्रामीण क्षेत्रहरुमा ग्रामीण जनताको अमवरश्यकताका वस्तु तथा सेवाहरु र स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवाहरु खरिद बिक्री गर्ने उद्देश्यले विभिन्न ग्रामीण क्षेत्रहरुमा बजार केन्द्रहरु स्थापना र विकास हुँदै गएको पाइन्छ । यसरी स्थापना र विकास भएका बजारहरु हेटौंडा, भीमफेदी, मनहरी, लोथर, छतिवन, फापरवारी, चौधडा, पालुङ्ग, ओखरबजार हुन् त्यसैगरी भैंसे, दामन (शिखरकोट), हटिया (चिसापानी), बसामाडी (बस्तीपुर) सरस्वती बजार, मार्खु, कुलेखानी नामटार, हर्नामाडी आदि पनि क्रमशः बजार उन्मुख गाविसमा पर्दछन् ।

१६. शिक्षा ः

२०६८ सालको जनगणना अनुसार यो दर बढेर ६७.८५ प्रतिशत भएको छ । महिला साक्षरता प्रतिशत ६०.५९ प्रतिशत छन् भने पुरुष साक्षरता ७४.४१ प्रतिशत रहेको छ । यस जिल्लाको बढी साक्षर भएको गाविस हर्नामाडी (६१.२८प्रतिशत) हो भने सबैभन्दा कम साक्षर भएको गाविस भार्ता (१४.७६) हो हेटौडा नगरपालिकाको साक्षरता दर ७६.८१ प्रतिशत छ ।

१७. कृषि तथा सहकारी ः

कृषि पेशामा ८२.७ % जनता संलग्न रहेको यस जिल्लामा २५.१५% भूभाग कृषिको क्षेत्रले ढाकेको छ । कृषि भूमिको ३७.२८% मा वर्षभरि र मौसमी सिंचाई सुविधा पुगेको छ । भू बनोटको आधारमा यस जिल्लालाई मध्य पहाड र भित्री मधेशको रुपमा वर्गीकरण गर्न सकिन्छ । महाभारत पर्वत श्रृंखलाको उत्तरी भेगमा पर्ने उच्च भूभागदेखि वेशी फाँटसम्मको चिसो भागमा खासगरी बेमौसमी तरकारी, आलु, हिउँदै फलपूmल, सुन्तला जातका फलपूmलका लागि उपयुक्त हावापानी छ भने तल्लो पहाडी भेगमा अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको लागि उपयुक्त मानिन्छ । त्यसैगरी चुरेपर्वत र महाभारत पर्वत श्रृंखला बीचको एक चौथाइ समथर भूभागमा न्यानो हावापानी भएको कारण अगौटे तरकारी, आलू तथा खाद्यान्न उत्पादनको दृष्टिले उपयुक्त ठानिन्छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका ६ वटा सेवा केन्द्र र २ वटा सम्पर्क केन्द्र मार्फत सेवा पु¥याएको छ ।